हल्दीबारी गाँउपालिका हार्दिक स्वागत गर्दछ ।

संक्षिप्त परिचय

झापाको हल्दीबारी गाउँपालिकाको सीमाना भद्रपुर नगरपालिकासँग जोडिएको छ । यसको दक्षिणतिर भने केचनाकवल गाउँपालिका पर्दछ । हल्दीबारी लगायतका यी स्थानहरू ऐतिहासिक रूपमा निकै महत्वपूर्ण छन् । यस भेगको इतिहास साहित्यिक स्रोतहरूका आधारमा आजभन्दा करिव ३००० वर्ष अगाडिसम्म पुग्ने गर्दछ । यसको सीमावर्ती गाउँ केचनाकबलमा पर्ने किचकवध स्थानमा महाभारतका पात्र किचकको बध भएको थियो भन्ने साहित्यिक विवरण  पाइन्छ । प्राप्त कथाअनुसार गुप्तवासमा विराटराजाको दरबारमा बसेका पाण्डवमध्यको भीमले किचकलाई यही स्थानमा बध गरेका थिए भनिन्छ । यसै नामका आधारमा यसलाई किचक बध भनिएको हो भन्ने विश्वास छ । यसैगरी यस भेगलाई विराटको साल किचकको राज्यभित्र पर्ने पनि बताइन्छ । विभिन्न किंवदन्ती तथा लोकपरम्पराका आधारमा किचक किराती थिए । तिनको राज्यको पश्चिमी सीमाना भने माईनदी थियो । किचक बध क्षेत्रमा गरिएको उत्खनन्ले पनि त्यस भेगमा इसापूर्व कालमा मानिसहरूको वस्ति बसिसकेको दर्साएको छ । कालान्तरमा सम्भवत बाढीका कारण यस भेगको पुरानो वस्ति विनास भयो र यस भेगको इतिहास पनि टुट्न पुग्यो । 
    महाभारतको कथा र विभिन्न लोकोक्ति तथा किंवदन्तीका आधारमा हल्दीबारी लगायतको किचकबध क्षेत्रमा विस्तारै कालक्रमले गर्दा वस्ति विनास भयो र निर्जन जंगलका रूपमा परिणत हुनपुग्यो । त्यसपछि पुन बौद्ध कालमा यस भेगमा मानिसहरूको बस्ति बसेको अनुमान छ । शाक्यमुनि बुद्धको समयताका यस भेगमा थुप्रै वस्तिहरू थिए । तसर्थ बुद्ध बारम्बार यस भेगको भ्रमणमा आउने गरेको किंवदन्ती पाइन्छ । हल्दीबारीको केही दक्षिणतिर कर्णसुवर्ण नामको एउटा प्रख्यात शहर थियो, जहाँ हजारौंको सङ्ख्या मा बौद्ध भिक्षुभिक्षुणीहरू बस्तथे भनिन्छ । बुद्धको अवसानका साथमा यहाँको वस्ति कारणवस विनास भयो र यो स्थान जंगलले ढाकेर रह्यो । 
    प्राचीन कालमा झापाको हल्दीबारी लगायतको क्षेत्र पुण्ड्रबर्धन अन्तरगत पनि रह्यो । पुण्ड्रवर्धनको सीमा पूर्वमा तिष्टा थयो भने यसको फैलावट उत्तरमा महाभारत पर्वत श्रेणी तथा दक्षिणमा गंगा नदी थियो । त्यसपछि यो भेग विभिन्न रजौटाको अधिनमा पर्दै विजयपुरको अधिनमा पर्न पुग्यो । विजयपुरमा विजयनारायणले राज्य स्थापना गरेपछि यो भेग पनि विजयनारायणको अधिनमा परेको हो । यसैगरी विजयपुर पाल्पाली सेनको अधिनमा पर्दा हल्दीबारी भेग पनि सेनहरूको एउटा भूभाग बन्न पुग्यो । नेपाल एकीकरण पछि भने यो स्थान बृहत्तर नेपालमा परेको हो । 
    एकीकरणपछि हल्दीबारी लगायतको झापा पनि मोरंग भेगबाट शासित थियो । राणकालतिर भने यताको प्रशासन झापाबाट चलाउन लागियो । यहाँ झापाको मतलव अहिलेको कुमारखोत हो । उक्त स्थान अघि चारैतिरबाट जंगलले झापिएको या घेरिएको हुनाले तथा जंगलको बीचमा वस्ति बसेको हुनाले स्थानीय राजवंशी भाषामा यसलाई झापा भनियो । यही आधारमा यस जीवल्लाको नाम पनि झापा रहेको हो । आजभोलि पनि झापाबजार भन्नाले कुमारखोतलाई बुझिन्छ । नेपाल एकीकरण पछि झापा जीवल्लाको प्रशासनिक कार्य झापा गोश्वाराले हेर्ने गर्दथ्यो । पछि झापाको झापा क्षेत्र हेर्ने गोश्वारा झापा बजारमा सारियो । यहाँ झापाको अर्थ राजबंशी भाषामा ढकनी या विर्को या छोप्ने कुरा भन्ने हुन्छ । अघि कुमारखोद गाउँ चारैतिरबाट जंगलले घेरेको या छोपेको हुनाले यसलाई झापा भनियो र पछि त्यही गाउँमा रहेको गोश्वाराको नामका आधारमा यस जीवल्लाको नाम पनि झापा रह्यो भनिएको छ । हल्दीबारी यही कुमारखोदको सीमावर्ति गाउँ हो । 
    नेपाल एकीकरणपछि झापालाई झापा प्रगन्नाभित्र राखिएको थियो, जुन प्रगन्नाभित्र सुनसरी, मोरंग र झापाको सम्पूर्ण क्षेत्र पर्दथ्यो । वि.सं. २०१८ सालको राजनैतिक विभाजन पश्चात् मोरंगबाट सुनसरी र झापा जीवल्लालाई अलग गरेपछि झापा जीवल्लाको वर्तमानको स्वरूप कोरिएको हो । झापाका मुख्य ऐतिहासिक स्थानमा अर्जुनधारा, कोटीहोम, कन्काईमाई, कलवलगुडी, केचनाकवल, कृष्णथुम्की, चन्द्रगढ, चिल्लागढ, दोमुखा, धनुषकोटिधाम, बाह«दसी, पातालगंगा, विराटपोखर, किचकबध, साताक्षीधाम  र समयगढ हुन् । यिनै पुराना वस्तिक्षेत्रको सीमावर्ति गाउँ हल्दीबारी ऐतिहासिक रूपमा पनि प्रख्यात छ । हुलाकी मार्ग यहींबाट भद्रपुरतिर गएको छ । तसर्थ हल्दीबारी भद्रपुरको सीमावर्ती गाउँ रहेको छ ।